सीसीएमसी सिईओमा पूर्वरथी शर्मा नियुक्त


काठमाडौं – सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीको पुनर्गठन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति बनाएको छ ।

नेपाली सेनामा रहेर लामो समय देशको सेवा गर्दै आएका शर्माले तत्कालिन माओवादी सेना समायोजन विशेष समितिको संयोजकको भूमिका निर्वाह गरेर सफलता हात पारेका थिए । पछिल्लो समय नेपाल इन्स्टिच्यूट अफ क्राइसिस म्यानेजमेन्ट कलेजमा प्रिन्सिपलको भूमिकामा रहेका शर्माको कार्यकुशलतामा सरकारले पुनः एकपटक विश्वास गरेको छ ।

प्रतिक्रिया