कोरोनाबाट ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु दिनेः केजरीवाल


नयाँदिल्ली – भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गरेका हुन् ।

मुख्यमन्त्री केजरीवालले लकडाउनले दिल्लीलाई फाइदा पुगेको पनि बताएका छन् । यही कारण राजधानीमा पोजेटिभ दर ३६ प्रतिशतबाट घटेर दुई दशमलव पाँच प्रतिशतमा घटेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘अवस्था सुधारिँदै गएको छ तर हामीले युद्ध जितिसकेका भने छैनौं । हामी अझै पनि अनुशासित र संयमित बन्नुपर्छ ।’ यसैबीच दिल्लीमा एक हप्ताका लागि लकडाउन बढाइएको छ । अब राजधानी दिल्लीमा लकडाउन बढाएर मे ३१ बिहान ५ बजेसम्म लागू गरिएको छ ।

दिल्लीमा खोपको कमी

मुख्यमन्त्री केजरीवालले एक पटक फेरि दिल्लीमा कोरोनाविरुद्धको खोपको कमी भएको बताएका छन् । उनले भनेका छन्, ‘दिल्ली र देशभरि नै खोपको कमी छ । हामीसँग पर्याप्त खोप भए तीन महिनामा पूरै दिल्लीको जनसंख्यालाई खोप लगाउने योजना बनाएका छौं ।’

दिल्लीमा खोपको कमीका कारण १८ देखि ४४ वर्षसम्मको खोप अभियान बन्द गरिएको छ । यसअघि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउने अपिल गरेका थिए । एजेन्सी

प्रतिक्रिया