जसपा निकट युवा सङ्गठन भन्छन्- सङ्कटको निकास नै निर्वाचन


काठमाडौँ । नेकपा (एमाले) र जनता समाजवादी पार्टीनिकट युवा सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक सङ्कटको दीर्घकालीन समाधानका लागि निर्वाचनको घोषणा गरिएकामा स्वागत गरेका छन् । प्रतिनिधिसभामा दलहरुले संविधानअनुसार अर्को सरकारको विश्वासिलो दाबी पेश गर्न नसकेपछि यही जेठ ८ गते प्रतिनिधिसभामा विद्दटन भएको थियो ।

राष्ट्रिय यूवा सङ्घ नेपालका अध्यक्ष वचनबहादुर सिंह र राष्ट्रिय यूवा सङ्घका अध्यक्ष मुकेश झाले आज संयुक्त वक्तव्य जारी गर्दै यो कदम संविधानलाई सफलतापूर्वक उतार्ने अभ्यासको नमूना भएको उल्लेख छ । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन संवैधानिक उपाय मात्र नभएर अराजक दलहरुबाट सिर्जित ‘डेडलक’ अन्त्यको परिस्थितिको उचित निकास दिने वैधानिक बाटो भएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा वर्तमान सरकार संसदलाई गतिशिल अङ्ग, विकासको साधक र समृद्धिको सपना कोरल्ने निकायका रुपमा विकास गर्न चाहेको बताइएको छ ।

वर्तमान सरकारले राजनीतिक, आर्थिक, कुटनीति, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सफलता हासिल गरेको जनाउँदै सरकारले मिचिएको नेपाली भूभागसहितको नक्सा जारी गर्ने, भूकम्पपछिको पुनःनिर्माण, सडक र सुरुङमार्ग र रेलमार्ग निर्माण, कोरोना नियन्त्रणसँगै स्वास्थ्य पूर्वाधारको विकास, सशस्त्र विद्रोह र बिखण्डनकारी बाटोमा रहेको राजनीतिक शक्तिलाई मूलधारमा ल्याएको उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा मुलुक अघि बढेको र सरकारले दुवै छिमेकी मुलुकसँगको दोहोरो हितमा आधारित सुदृढ उच्च सम्बन्धका साथै अन्तराष्ट्रियस्तरमा समेत नेपालको उचाइ दिन सकेको उल्लेख छ ।

प्रतिक्रिया