

अक्सिजन उद्योगले सहुलियत ऋण पाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अक्सिजनसँग सम्बन्धित उद्योगले ऋण सहुलियत पाउने जनाएको छ ।
चालु वर्षको तेस्रो त्रेमासिक मौद्रिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट , अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा नै कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
जसअन्तर्गत लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गरिने छ ।
त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

