पोखराबाट मदन भण्डारीसँगै गाडीमा हिँडेका ऋषिराम कट्टेल यसरी दासढुंगामा पर्नबाट जोगिए


काठमाडौं– एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाको मुख्य आधार हुन्, ऋषिराम कट्टेल। एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखिएपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त पार्टीको आधिकारिकता कट्टेलसँग रहेको सर्वोच्चले फैसला गर्दै एमाले र माओवादी ब्युँताइदियो। यसलाई कतिपयले विवादीत फैसला भने पनि कट्टेलले न्याय पाएको बताएका थिए।

नेपाली कम्युनिस्ट पार्टीका असाधारण घटनामा जोडिने कट्टेल एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटना प्रकरणमा पनि ठोक्किएका छन्।

२ जेठमा भण्डारी र आश्रितसँगै पोखरामा एमालेको कार्यक्रममा सहभागी रहेका कट्टेल ३ जेठमा सँगै जीवप चढेका थिए। तर उनी मुग्लिङसम्म पनि आएनन्।

संयोगबस आबु खैरेनीमा उनको पार्टीको र केही व्यक्तिगत काम परेका कारण त्यहिँ उत्रिए। एमालेको छानबिन आयोगले पनि यहि कुरालाई उल्लेख गरेको प्रतिवेदन पार्टीमा बुझाएको थियो।

प्रतिवेदनमा भनिएको छ,‘जेठ ४ गते नारायणगढ आउने कमरेडहरूको पूर्वनिर्धारित कार्यक्रम अघिल्लो दिन अज्ञात व्यक्तिले मदनसित टेलिफोन गरेपछि परिवर्तन भयो र ३ गते २ बजे उहाँहरु पोखराबाट प्रस्थान गर्नुभयो।’

हालका प्रधानमन्त्री केपी शर्मा ओलीको छानबिन आयोगले तयार पारेको प्रतिवेदनमा अगाडि भनिएको छ,‘पोखराबाट उक्त गाडीमा कमरेड ऋषि कट्टेल पनि चढ्नुभयो। गाडी अघि बढ्यो। पोखरा बजार कट्नासाथ ड्राइभर अमर लामाले कमरेड भण्डारीलाई सिटबेल्ट बाँध्न अनुरोध गरे। उहाँले बाँध्नुभयो। अपरान्ह ४.५५ बजे गाडी आबु खैरेनी आइपुग्यो। ऋषि कट्टेल त्यहिँ झर्नुभयो।’

प्रतिक्रिया