ज्योत्सना साउदद्वारा ४ थान अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग


काठमाडौं – सुदूरपश्चिममा पनि अक्सिजन अभावका कारण कयौंले ज्यान गुमाउनु परेको खबरले मर्माहत भएकी रुडुक नेपालकी केन्द्रीय महासचिव तथा नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले सुदूरपश्चिममा चार थान अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

महासचिव साउदले गृहजिल्ला कञ्चनपुरका लागि तीन थान अक्सिजन कन्सनट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर र मास्क सहयोग गरेकी छन् । त्यसैगरि एक थान अक्सिजन कन्सनट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन् ।

यस्तो महामारीको समयमा थोरै भए पनि राहत होस् भनेर उक्त सहयोग गरेकी महासचिव साउदले बताएकी छन् । ज्योत्सनाले भनिन्, ‘यस्तो महामारीका समयमा कोरोनाका बिरामीहरुलाई थोरै भए पनि राहत होस् भनेर यो सहयोग गरिएको हो । अलि बढी नै पाइन्छ कि भनेर हामीले प्रयास गर्यौ तर, बजारमा सामान नै नपाइएका कारण अहिलेलाई यति नै पठाएका हौं । हामीले सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने गरि सहयोग गर्नतर्फ प्रयास गरिरहेका छौं ।’

देशविदेशबाट धेरैले सहयोग गर्ने प्रतिबद्धा जनाएको भए पनि बजारमा सामाना अभावका कारण उपलब्ध गराउन नसकिएकोसमेत उनले जानकारी दिएकी छन् ।

साउदले कोरोना महामारीको पहिलो लहरका क्रममा पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा राहत सहयोग उपलब्ध गराएकी थिइन् ।

अक्सिजन कन्सनट्रेटर र अक्सिमिटर :

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ ।

त्यसैगरि अक्सिमिटरले शरीरको चाल विश्लेषण गरेर यो अक्सिजनको मात्रा देखाउँछ । सामान्यतः मानिसमा अक्सिजनको स्याचुरेसन लेभल ९४ प्रतिशत हुन्छ । यो डिभाइसको प्रयोगले शरीरमा अक्सिजनको मात्रा कति छ भन्ने थाहा हुन्छ र अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने वा नलिने भन्ने पनि निर्णय लिन सकिन्छ । कहिलेकाहीँ अवस्था गम्भीर हुँदा पनि यसले अक्सिजनको मात्रा थाहा पाउन मद्दत पुग्छ ।

प्रतिक्रिया