भारतमा घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु कति?


नयाँदिल्ली – भारतमा पछिल्ला केहि दिनयता कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या घट्दै गएको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४८ हजार पाँच सयमा संक्रमण पुष्टि भएको छ । गत साता भारतमा दैनिक संक्रमितको संख्या साढे चार लाख नाघेको थियो । भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार नाघेको छ ।

कोभिड–१९ संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा चार हजार दुई सयले ज्यान गुमाएका छन् । मृत्युदरमा भने कमी आउन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हाल भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ । यो बुधबार बिहान सात बजेसम्मको तथ्यांक हो ।

भारतमा हाल करिब साढे ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोना भाइरसबाट समुक्त भएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि भारत सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन छ । कोरोना भाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयल अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियानमार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् ।

गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया