

नारायणकाजी श्रेष्ठको बिलौनाः ‘समयमा अक्सिजनसहितको बेड नपाएर बुहारीलाई बचाउन सकिन’

काठमाडौं – कोभिड–१९ ले नेपालीहरूको जनजीवनमा कस्तो असर पारेको छ भन्ने कुराको एउटा पछिल्लो उदाहरण बनेका छन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’।
श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अत्यन्तै मार्मस्पर्शी फेसबुक स्ट्याटस राखेर आफ्नो बुहारीलाई बचाउन नसकेको कुरा सार्वजनिक गरेका छन्। जबकी श्रेष्ठ राज्यको उच्च तहमा पुगिसकेका र राजनीतिक शीर्ष नेताभित्र पर्छन्।
राजनीतिक तथा प्रशासनिक हिसाबले सहज पँहुच भएका नेता श्रेष्ठले कोरोनाबाट सङ्क्रमित आफ्नो बुहारीलाई उपचार गराउन नसकेर मृत्यु भएको कुरा सार्वजनिक गरेपछि अनेकन टिकाटिप्पणी हुन थालेको छ।
सिकिस्त बिरामी (बुहारी) का लागि अस्पतालमा बेड नै नपाएको, आइसियु र भेन्टिलेटर त परको कुरा हो भन्ने अनुभूति सार्वजनिक गरेका छन् श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा।
सुरुमा अस्पतालहरुको ढोका ढक्ढक्याउदा इमर्जेन्सी र अक्सिजनसहितको बेड नपाएको श्रेष्ठको गुनासो छ। ‘केही दिनदेखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड समेत पाइएन, आइसियु र भेन्टिलेटर त परको कुरा,’ उनले लेखेका छन्।
उनले भावुक हुँदै थप लेखेका छन्, ‘पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौँ। केही दिनपछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आइसियुमा राख्न सक्यौँ। तर तिमीलाई बचाउन सकिएन बुहारी ‘हार्दिक श्रद्धाञ्जली’।
नेता श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिडका कारण आज निधन भएको छ। उनले भने, ‘प्रिय बुहारी निर्मला वैद्यको कोभिडका कारण आज भएको दुःख निधनबाट मर्माहत भएको छु।’
निर्मलाको श्रीमान पनि कोभिडका कारण अस्पतालमा उपचाररत रहेको श्रेष्ठले बताए। ‘निर्मलाको श्रीमान, राजनीतिक एवं सामाजिक व्यक्तित्व, भतिजो विकल श्रेष्ठ आफै पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन्। उनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो ठेगान छैन। विकलको स्वास्थ्यलाभको कामना गर्दै शोक सन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ श्रेष्ठले फेसुबकमार्फत जानकारी दिए।
‘बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्त मात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गैरहेको छ। म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुको लागि बेड र आइसियु खोजेको छु, तर पाइराखेको छैन। महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन,’ श्रेष्ठले भने।

