

जसपाले ह्विप जारी नगर्ने, बाबुराम-उपेन्द्र समूहले विपक्षमा मतदान गर्ने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताको बैठकले भोली (सोमबार) हुने सरकारलाई विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने निर्णय गरेको छ ।
पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको शीर्ष ६ नेताहरुको बैठकले पार्टीले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने सर्वसम्मतिले निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।
त्यसलगत्तै त्यहीं बसेको भट्टराई र यादवपक्षका नेताहरुको अनौपचारिक बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता श्रेष्ठले बताए ।
‘तटस्थ रहन चाहनेले तटस्थ रहन पायो । विश्वास भएकाहरुले विश्वासको मत दिन पनि पायो । हामीले विश्वासको मतको विपक्षमा मतदान गर्छौं । त्यसबारे पहिला नै निर्णय गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘हामीले किन विश्वास गर्दैनौं भने प्रधानमन्त्री केपी ओली इतिहासमा नै सबैभन्दा धेरै पश्चगामी दृष्टिकोण भएको, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातीक, समावेशिता, धर्मनिरपेक्षलगायतका परिवर्तनका एजेण्डाहरुको विपक्षमा उभिदैं आएको हुँदा उहाँलाई विश्वासको मत दिन सक्दैनौं ।’
आफ्नो पक्षका १८ सांसदले विपक्षमा मतदान गर्ने श्रेष्ठले बताए । उनका अनुसार बैठकमा महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर, भट्टराई र यादव पक्षले तटस्थ बस्न नहुने अडान लिएपछि सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने सर्वसम्मतिले निर्णय भएको हो ।
आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् ।
तर, एमालेकै माधवकुमार नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपालपक्षका सांसदहरुले राजीनामा दिए जसपाका सबै सांसदले ओलीलाई विश्वासको मत दिएपनि संख्या पुग्दैन । जसपामा हाल ३२ जना सांसद छन् ।

