माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ


माले – माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ ।

‘मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,’ माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । आज पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ ।

राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते भएका थिए । उनी अस्पतालमा उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ । नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए ।

घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ ।

प्रतिक्रिया