

अल्पायुमै कोरोनाले लियो पत्रकार दिनेश दाहालको ज्यान

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट एक पत्रकारको निधन भएको छ। कोरोना संक्रमित पत्रकार दिनेश दाहालको शनिबार उपचारका क्रममा निधन भएको हो।
दाहाल १० वैशाख २०७८ मा धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएका थिए। लगत्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।
निमोनियासमेत देखिएपछि उनलाई सोही अस्पतालको आईसीयू कक्षमा राखेर राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको २५ गते शनिबार अर्थात आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासचिव रोशन पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
१ वैशाखमा कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई समस्या भएपछि १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा कार्य गरेका थिए। पछिल्लो समय पत्रकार दाहाल सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय रहेका थिए।
दाहालको निधनसँगै कोरोनाबाट ज्यान जाने पत्रकारको संख्या ८ पुगेको छ। ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन्।

