दाङ उवासंघमा अहिलेसम्मकै ठूलो आर्थिक घोटाला, कोषाध्यक्षले १४ लाख झ्वाम पारेपछि…


कार्यसमितिका कोषाध्यक्ष सुशील पोख्रेल

दाङ – दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेनमा अहिलेसम्म सर्वाधिक आर्थिक खर्च भएको खुलासा भएको छ। दाङ उवासंघको पैसामा व्यक्तिको रजाइँ भएको छ।

यसअघिका संघको कार्यसमितिले थोरै खर्चमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरेकोमा गएको संघको कार्यसमितिका कोषाध्यक्ष सुशील पोख्रेलले सर्वाधिक अनियमित तरिकाले थुप्रै पैसा खर्च गरेका छन्।

अनियमित ढङ्गबाट खर्च भएका बिलहरु मिलाएर पास गरिएको र धेरैजसो खाजा खर्चको नाममा रहेका बिलहरु पास गरिएको कार्य समितिका एक जना सदस्यले बताए। ती सदस्यकाअनुसार पोख्रेलले झण्डै १४ लाख रुपैयाँ खर्च गरेका छन्।

यती ठूलो रकम साधारणसभा तथा अधिवेशनमा खर्च भएपछि संघभित्र छानबिनको आवाज ठूलो स्वरमा उठेको छ। विभिन्न समयमा रक्सी, मासु खाएका बिलहरु खाजा खर्च बनाइ पेश गरेर बिलहरु मिलाएर पास गरिएको कार्यसमितिकै अर्का सदस्यले बताए।

एकएक गरेर छानबिन भएमा धेरै फर्जी बिल भेटिने कार्य समितिकै सदस्यहरु बताउँछन्। पोख्रेलले गएको चुनावमा उम्मेद्वार बनेकै नाममा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेनन्। चुनाव प्रचारका बहाना बनाएर साधारणसभाबाट पोख्रेल भागेको आरोप समेत लागेको छ।

साधारणसभामा छलफल नै नगरेर कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो। आर्थिक कुरामा अत्यन्तै पारदर्शी नरहेका पोख्रेलको खर्च गराइले धेरैको ध्यान तानेको छ।

सार्वजनिक स्थलमा प्रायःजसो मादकपदार्थ सेवन गरेर पुग्ने पोख्रेलले आफ्नै साथीभाइसँग झगडा गर्ने गर्दछन्। कोरोनाको महामारीमा अघिल्लो पटक लकडाउनमा पनि तरकारी वितरण गर्ने एकजना मुस्लिम व्यक्तिलाई कुटपिट गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको थियो।

दाङ जिल्ला उद्योग बाणिज्य संघको कार्यालयबाट पक्राउ परेका पोख्रेल जिल्ला प्रहरी कार्यालयको हिरासतको बसाइपछि आइन्दा गल्ती नगर्ने गरि कागज गरेर छुटेका थिए।

१३ लाख ९५ हजार भर्खरै गएको साधारणसभा तथा अधिवेशनमा खर्च गरेको आर्थिक प्रतिवेदन सार्वजनिक भएपछि चौतर्फी संघको आलोचना सुरु भएको छ।

पटक–पटक विवादमा आउने पोख्रेल अत्यन्तै विवादित पात्र हुन्। ठुलो रकम खर्चबारे वर्तमान कार्य समितिमा जोडतोडले छानबिन गर्नुपर्ने आवाज उठेको छ। छानबिनको सशक्त कुरा उठाउनेमा संघकै उपाध्यक्ष अनिल आचार्य हुन्।

अहिले सफल उद्यमीको रुपमा परिचय बनाएका आचार्यले अनियमित ढङ्गले अघिल्लो कार्यसमितिले गरेको खर्च छानबिन गर्नुपर्ने प्रस्ताव कार्य समितिभित्र राखेका छन्।

छानबिन गरेर मात्रै खर्च अनुमोदन गर्नुपर्ने अडानमा आचार्य छन्। व्यवसायीले दुख गरेर कर तिरेको पैसामा व्यक्तिको रजाइँ चल्न थालेपछि आर्थिक पार्दशिताको कुरा उठेको आचार्य बताउँछन्।

आर्थिक अनियमितता भएकै कारण छानबिनको कुरा उठेको हो। अहिलेका संघका अध्यक्ष टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पोख्रेल छानबिन गर्न नहुने बताउँदै छानबिन नै रोकेका छन्। छानबिन रोकिनुले दालमा कुछ काल हे भन्ने कुरा चरितार्थ भएको छ।

प्रतिक्रिया