

पश्चिम बङ्गाल हिंसामा ज्यान गुमाउनेकाे सङ्ख्या पुग्याे १७

पश्चिम बङ्गाल – भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ ।
विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ ।
गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएकाे छ ।
ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ ।
बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ । दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।
आज मात्रै शपथ लिएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाएकी छिन् । बीबीसी

