

माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

काठमाडौं – बुधबार नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको छ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको गुरुङले बताए।
माओवादीले समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको आरोप लगाएको छ।
साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्रमा उल्लेख छ।
५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णयलगत्तै माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ। यही २७ वैशाखमा बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन्।

