

सरकारलाई समर्थन नरहेको पत्र लिएर संसद सचिवालय जाँदै माओवादी प्रमुख सचेतक गुरुङ

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहितको एउटा टोली प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन नरहेको पत्र लिएर बुधबार संसद सचिवालय जाने भएको छ।
मंगलबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेपछि संसद सचिवालयलाई माओवादीले पत्र बुझाउन लागेको हो। नैतिक रुपमा समर्थन नरहेको र लेखेर मात्र दिन बाँकी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको दुई दिनमा नै समर्थन फिर्ता लिने निर्णय गरिएको थियो।
योसँगै माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुर्याउनका लागि नेपाली कांग्रेस र जनता समाजवादी दलसँग आन्तरिक छलफल गरिरहेको पनि बताइएको छ।

