

काठमाडौं मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ।
कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए।
‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै कोरोना संक्रमितको निस्शुल्क उपचार भइरहेको छ।’
उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ। डा शर्माद्वारा सञ्चालित विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पनि केही दिन अघिबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु भएको छ।
केएमसीमा अब कोरोनाको उपचार पनि निःशुल्क हुने भएपछि कोरोना संक्रमितहरुलाई थप राहत मिल्ने छ।

