

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवाले सोमबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न बैठक बोलाएको हुनसक्ने कांग्रेसका एक नेताले जानकारी दिए।
बैठकमा १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
आइतबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने जानकारी गराएका थिए। प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि कांग्रेसले आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको हुनसक्छ।
यसैबीच प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २७ वैशाखमा लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन्।

