तुलसीपुरमा ३ बालक मृत्यु प्रकरणः प्रहरीले कारधनी र चालकविरुद्ध ज्यान मुद्दा चलायो

पोष्टमार्टमका लागि बुटवलबाट डाक्टर झिकाइए


काठमाडौं – तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कारभित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

स्याउली बजारमा विगत तीन महिनादेखि पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको निशान कारभित्र तुलसीपुर–६ बरुवा गाउँ निवासी ९ बर्षमुनिका तीन बालकको शव फेला परेको थियो ।

घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनि तुलसीपुर–६ का ३३ बर्षीय यादव प्रसाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शिर्षकमा मुद्दा चलाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले गाडी धनी गैरे र चालक बस्नेतलाई पक्राउपछि मुद्दा चलाइएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुले १ माघमा उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष दिएको डिएसपी सिंहले बताए ।

‘लक गरिराखेको कारभित्र तीन बालक कसरी भित्र छिर्न सके? त्यहाँ आशंका छ,’ डिएसपी सिंहले भने, ‘माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो? भन्ने कुरापनि शंकास्पद देखिएको छ।’

स्थानीय प्रत्यक्षदर्शीहरुले लामो समयदेखि पार्किङ गरिराखेको कारमा बेलुकीपख सबै बत्तिहरु बलेको देखेर त्यहाँ हेर्न गएका थिए । स्थानीयले हेर्दा कारभित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुनसक्ने प्रहरीको आशंका छ ।

गैरेले आफूले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।

यसैबीच तीन बालकको शव पोष्टमार्टम गर्नका लागि फरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएको छ । डिएसपी सिंहले तुलसीपुरमा फरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्टमार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनुपरेको जानकारी दिए ।

प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र विज्ञ प्राविधिक समेत झिकाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया