दुई सातामै भरियो कोभिड अस्पताल, गम्भीर खालका बिरामी बढि


विराटनगर – विराटनगरस्थित कोशी कोभिड-१९ उपचार केन्द्र दुई साताको अवधिमै संक्रमितले भरिभराउ भएको छ । दुई सातामै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो ।

अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा. एपोलो भगतले बताए । अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् ।

प्रदेश सरकारको निर्देशनअनुसार अक्सिजन लिनु नपर्ने प्रकारका संक्रमितलाई भने भर्ना नलिइएको डा। भगतले बताए । उनले सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमै पठाउने गरेको उनको भनाइ छ ।

प्रदेशमा कोरानाको दर शून्यमा भरेपछि सो अस्पताल बन्द गरिएको थियो । कोरोनाको दोश्रो लहर सुरु भएसँगै प्रदेश सरकारले चैत २४ गते कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा ल्याएको हो ।

 

प्रतिक्रिया