एनपिएल क्रिकेटः इलिमिनेटरमा काठमाडाैं गोर्खाज र चितवन राइनोज् भिड्दै


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ ।

लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ ।

लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ ।

आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका थिए ।

पहिलो क्वालिफायरमा विजयी लुम्बिनी फाइनल पुगिसकेको छ । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

 

प्रतिक्रिया