
पाँचखालको ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ ।
चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।
३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
