
राजबहादुर शाह दाेस्राे वर्ष पनि सबैभन्दा धेरै कर तिर्ने व्यवसायी, भाटभटेनीलाई सरकारको सम्मान
काठमाडौं – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदाता व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। शाह लगातार दोस्रो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका हुन्।
संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।
बैंक, वित्तीय संस्था तथा बीमा कारोबारतर्फ नबिल बैंक सम्मानित भएको छ। कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्सले सम्मान पाएको छ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायीतर्फ सोल्टी होटल पुन: सम्मानित भएका छन्। वस्तु व्यापारको कारोबार गर्ने संस्थामध्ये सीजी इम्पेक्स सम्मानित भएको छ।
सरकारले यस वर्ष प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान र रोजगारी सिर्जना गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। सो घटनाबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो।
ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले कुनै पनि कर्मचारीको रोजगारी नगुमाई पुन: लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ। भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ हुन् । आजदेखि टंगालस्थित भाटभटेनीमा २४ सै घन्टा सेवा उपलब्ध हुने भएको छ ।



कागजपत्र |
