भोजमा जाँदै गरेको डुंगा पल्टिँदा बिहारमा  १३ जनाको मृत्यु


बिहार – भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ।

मृतकमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गएको मंगलबार राति साढे आठ बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा सानो डुंगामा सवार थिए। नदी पार गर्ने क्रममा डुंगा पल्टिएपछि उनीहरू बेपत्ता भएका थिए।

घटनालगत्तै उद्धार तथा खोजी कार्य जारी राखिएको छ। दुर्घटनामा ज्यान गुमाएकामध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीराको सनाखत भएको प्रहरीले जनाएको छ।

वैशालीकी जिल्ला अधिकारी (डीएम) वर्षा सिंहका अनुसार दुर्घटनामा घाइते भएका सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच) पठाइएको छ। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोलीले उद्धार कार्य जारी राखेको छ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन्। घटनास्थलमा पुगेकी जिल्ला अधिकारी वर्षा सिंहलाई समेत स्थानीय बासिन्दाले घेराउ गर्दै आफ्नो आक्रोश पोखेका थिए।

यसैबीच, दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप बिहार सरकारको तर्फबाट जनही ४ लाख भारतीय रुपैयाँ र भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) को तर्फबाट २ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ। साथै, घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ राहत दिने निर्णय गरिएको विवरणमा उल्लेख छ।

यस हृदयविदारक घटनाले सम्पूर्ण राघोपुर क्षेत्रमा शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया