आजको मौसमः पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव रहने


काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश, कोशी प्रदेशको तराई भू-भाग तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। देशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई अद्यावधिक मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया