
रसुवा बाढीपीडितका लागि होटल मेची क्राउनको २६ लाख सहयोग
काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि होटल मेची क्राउनले २६ लाख रुपैयाँ सहयोग गरेको छ।
होटल मेची क्राउनका तर्फबाट सञ्चालक बलराम साकोटाले प्रधानमन्त्री राहत कोषका लागि उक्त सहयोग रकम सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। सार्वजनिक भएको तस्वीरमा साकोटाले सहयोग रकमको चेक हस्तान्तरण गरेको देखिन्छ।
रसुवामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। धेरै नागरिकले ज्यान गुमाएका छन् भने कतिपय अझै बेपत्ता छन्। बाढीका कारण घर तथा सम्पत्ति गुमाएका परिवार तत्कालीन राहत, खाद्यान्न, आवास र पुनःस्थापनाको पर्खाइमा छन्। पछिल्लो समय सरकारको प्रधानमन्त्री राहत कोषमा विभिन्न व्यक्ति, संस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग आउने क्रम जारी छ।
यस्तो विपद्को समयमा निजी क्षेत्रबाट गरिएको सहयोगले प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
