
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता थापा कारबाहीमा
प्रदेश सभा सदस्य र पार्टी सदस्यबाटै निलम्बन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट पनि निलम्बन गरेको छ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन सघाएपछि दुवै पदबाट निलम्बनको निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
यसअघि नै पत्र पठाएर तथा भदौ १ गतेको पार्टी अनुशासन समितिको बैठकबाट निर्देशन दिँदा पनि त्यसलाई उलंघन गरेपछि थापालाई दुवै पदबाट निलम्बन गरिएको लिङ्देनले बताए।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार थापाको गतिविधिलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिँदै केन्द्रीय अनुशासन समितिको सिफारिसमा राप्रपा विधानको धारा ३०(ड) र ३२(ङ) बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय भएको हो।
बैठकले थापाको पार्टी सदस्यता निलम्बन गर्ने तथा उक्त निर्णयको जानकारी बागमती प्रदेशसभा, निर्वाचन आयोग र सम्बन्धित अन्य निकायलाई पठाउने निर्णयसमेत गरेको छ।
यसैगरी, राप्रपाले पार्टीको निर्णय र निर्देशनविपरीत सरकार निर्माणको गतिविधिमा संलग्न नहुन बागमती प्रदेशसभाका आफ्ना सदस्यलाई आह्वान गरेको छ।



कागजपत्र |
