
मध्यरातमा सुनसरीको देवानगञ्जमा झडप, १ जनाको मृत्यु, ११ जना घाइते
सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारी गरी ११ जना घाइते भएका छन् ।
गोली लागेर सोही स्थानका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको जनाइएको छ । गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
गएराति एक समूहले बोलबमको तयारीस्वरूप डीजे बजाएर नाचिरहेका बेला अर्को समूह आएर विवाद गरेको र त्यसपछि झडप भएको हो ।
दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घटनामा गोली लागेर ८ जना सर्वसाधारणसहित ३ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।
घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
