भोलि शनिबार रातिदेखि देशका यी ठाउँमा भारी वर्षा हुने 


काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले भोलि (शनिबार) रातीदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा हुने जनाएको छ।

विभागका अनुसार भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

यसैगरी विभागले आगामी आइतबार दिउँसो कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराईका समेत एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तातो लहरको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आइतबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशको तराई भू-भागका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया