
सहकारी पीडितको भुक्तानी करबाट गरे सरकार ढल्छ : दुर्गा प्रसाईं
काठमाडौं – नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सहकारी पीडितको रकम जनताको करबाट भुक्तानी गर्ने प्रयास गरिए वर्तमान सरकार संकटमा पर्ने चेतावनी दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणसम्बन्धी जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रसाईंले सहकारी क्षेत्रमा भएको ठगीको भार करदातामाथि थोपर्न नहुने बताए।
उनका अनुसार सरकारले सहकारी पीडितलाई राहत दिने नाममा जनताको कर प्रयोग गरी रकम भुक्तानी गर्ने योजना अघि बढाए त्यसले सरकारमाथि थप दबाब सिर्जना गर्ने र अन्ततः सरकारको पतनको सुरुवात हुने दाबी गरे।
प्रसाईंले मुलुकमा छिट्टै ठूलो आन्दोलन हुने संकेत गर्दै वर्तमान राजनीतिक व्यवस्था टिकाउ नभएको टिप्पणी पनि गरे। उनले आउने आन्दोलनले वर्तमान प्रणालीमाथि प्रश्न उठाउने र राजनीतिक परिवर्तनको आधार तयार पार्ने दाबी गरे।
कार्यक्रममा उनले सरकार किसान, सहकारी पीडित तथा स्वास्थ्य क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाए। मल अभाव, दूध किसानको भुक्तानी समस्या तथा स्वास्थ्य बीमा रकम निजी अस्पतालले नपाएको विषयमा सरकार उदासीन रहेको उनको भनाइ थियो।
प्रसाईंले सहकारी ठगीमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्ने तर जनताको करबाट उनीहरूको दायित्व पूरा गर्न नहुने स्पष्ट धारणा राखे।



कागजपत्र |
