
१० मिनेटमै विवाद टुंगिन्छ, नेतृत्वले साहस देखाओस् : कृष्ण सिटौला
विराटनगर- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको आन्तरिक विवाद, महाधिवेशनको अन्योल र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।
आइतबार विराटनगरमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सिटौलाले अनावश्यक विवाद र राजनीतिक नाटक अन्त्य गरी साहसिक निर्णयमार्फत पार्टीलाई स्पष्ट दिशामा लैजानुपर्ने बताए। नेतृत्वले चाहेको खण्डमा लामो समयदेखि थाँती रहेका विवाद केही मिनेटमै समाधान हुन सक्ने उनको भनाइ थियो।
सभापति गगन थापातर्फ संकेत गर्दै उनले विवादबाट नडराई निर्णायक भूमिका खेल्न आग्रह गरे। “विवाद के होला भनेर डराउनुपर्दैन, १० मिनेटमै कुरा टुंगिन्छ। त्यसका लागि साहस चाहिन्छ। लेख्ने र मेटाउने अधिकार तपाईँहरूसँगै छ, अब स्पष्ट निर्णय गरेर अगाडि बढ्नुस्,” उनले भने।
सिटौलाले कांग्रेसका विगतका महाधिवेशनहरूलाई स्मरण गर्दै नवौँदेखि चौधौँ महाधिवेशनसम्म स्थापित अभ्यास र नजिरअनुसार आगामी महाधिवेशन सम्पन्न गर्न सुझाव दिए। उनले नेतृत्व र पदाधिकारीहरूलाई समयमै पारदर्शी निर्णय लिन आग्रह गरे।
पार्टीभित्र आफ्नै सहकर्मीहरूमाथि भएको व्यवहारप्रति पनि उनले असन्तुष्टि जनाए। लोकतान्त्रिक पार्टीभित्र अमानवीय र अपमानजनक व्यवहार अस्वीकार्य हुने भन्दै उनले आफ्नै साथीहरूमाथि गरिएको व्यवहार निन्दनीय रहेको बताए।
“हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छे हौँ। हामीमा मानवता हुनुपर्छ। शत्रुप्रति पनि त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि गरिएको व्यवहार झन् स्वीकार्य हुन सक्दैन,” उनले भने। कुनै व्यक्तिले गल्ती गरे पनि कानुनी प्रक्रिया र संस्थागत पद्धतिबाट अघि बढ्नुपर्ने उनको धारणा थियो।
देशको समग्र राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै सिटौलाले मुलुकमा डर र त्रासको राजनीति हावी भएको बताए। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना विपरीत कदम चाल्दा जनतामा अन्योल र भयको वातावरण सिर्जना भएको उनको आरोप थियो।
“राष्ट्रपति नै तर्सिनुभयो, आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन गरियो, प्रधानमन्त्री नियुक्त गरियो, जबकि संविधानले त्यस्तो परिकल्पना गरेको छैन,” उनले भने, “डराउने र तर्साउने राजनीतिक संस्कृतिलाई कांग्रेसले अन्त्य गर्नुपर्छ।”
संविधानको आधारभूत संरचना परिवर्तन गर्न नसकिने उल्लेख गर्दै उनले जनतामा फैलाइएका भ्रम चिर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताए। तर, आन्तरिक रूपमा विभाजित र कमजोर बनेको कांग्रेसले त्यो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने उनको भनाइ थियो।
सिटौलाले पार्टी नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकता, सहकार्य र संस्थागत निर्णय प्रक्रियामा जोड दिन आग्रह गर्दै कांग्रेस एकताबद्ध भए मात्रै देशको वर्तमान राजनीतिक संकट समाधान गर्न सक्ने विश्वास व्यक्त गरे।



कागजपत्र |
