
कांग्रेसमा निरंकुशताको सुरुवात भयो : डा. शेखर कोइराला
विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुश प्रवृत्ति मौलाउन थालेको आरोप लगाएका छन्। लोकतन्त्र स्थापनाका लागि जन्मिएको कांग्रेसमै अहिले निरंकुशताको अभ्यास सुरु भएको भन्दै उनले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
विराटनगरमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा आयोजित एकता भेलालाई सम्बोधन गर्दै कोइरालाले वडाध्यक्ष तथा वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको दाबी गरे। अद्यावधिक प्रक्रियामा सहभागी नभएको भन्दै विभिन्न स्थानका सभापतिहरूलाई हटाइएको उल्लेख गर्दै उनले यसलाई निरंकुशताको प्रारम्भिक संकेतका रूपमा व्याख्या गरे।
“कांग्रेसको स्थापना लोकतन्त्रको रक्षा र निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले देशभर वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ। अद्यावधिक गर्न नमानेको आधारमा हटाइनु निरंकुशताको सुरुवात हो,” उनले भने।
कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै सबै पक्षलाई एकजुट बनाएर अघि बढ्नुपर्ने बताए। कांग्रेस बलियो भए मात्र लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र अखण्डता बलियो हुने उनको भनाइ थियो।
“कांग्रेसभित्र सहमति, सहकार्य र एकता अपरिहार्य छ। एकता बिना कांग्रेस अघि बढ्न सक्दैन। कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र होइन, देशको सार्वभौमिकता र अखण्डतासमेत कमजोर हुन्छ,” उनले भने।
सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र टिप्पणीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै कोइरालाले त्यस्ता विषयलाई अत्यधिक महत्व दिन नहुने बताए। उनले सभापति गगन थापासँगको छलफलपछि पाँचबुँदे प्रस्ताव तयार पारिएको उल्लेख गर्दै उक्त प्रस्ताव पठाएको एक महिना बितिसक्दा पनि कुनै ठोस समाधान ननिस्किएको गुनासो गरे।
पार्टी अहिलेको कार्यशैली र परिस्थितिमा अघि बढ्न नसक्ने भन्दै उनले कांग्रेसलाई एकताबद्ध र लोकतान्त्रिक ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए।



कागजपत्र |
