महाधिवेशनका नाममा रास्वपाले चन्दा मागेपछि…


कञ्चनपुर-  पुराना राजनीतिक दलहरूले चन्दा संकलन गर्ने परम्पराको आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैंले व्यवसायीसँग आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै रास्वपाले ३० हजार रुपैयाँ आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको हो ।

रास्वपा वडा समिति कृष्णपुर–१ का सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको जेठ २७ गतेको उक्त पत्रमा कम्पनीसँग आर्थिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरिएको उल्लेख छ ।

पत्रमा विगत २–३ वर्षदेखि वडामा विभिन्न काम भइरहेको र स्थानीयवासीले समेत सहयोग गर्दै आएको उल्लेख गर्दै रास्वपाको असार १ गतेदेखि हुने प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग आवश्यक परेको जनाइएको छ ।

पुराना राजनीतिक दलहरूको चन्दा संस्कृतिको विरोध गर्दै आएको रास्वपाले नै व्यवसायीसँग आर्थिक सहयोग मागेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

यद्यपि, रास्वपा वडा सभापति सुरेन्द्र बोहराले भने पत्रको आशय फरक भएको दाबी गरेका छन् । उनका अनुसार बण्ड खोला जाने सडक मर्मतका लागि सहयोग माग्ने उद्देश्यले छलफल भइरहेको बेला पत्रमा गलत विवरण उल्लेख भएको हो ।

“सडक मर्मतका लागि निर्माण कम्पनीसँग १०–१५ दिनदेखि कुरा भइरहेको थियो,” बोहराले भने, “२७ गते म गौशलामा थिएँ, साथीहरूले निवेदन दिऔँ भन्नुभयो, मैले पहिले नै हस्ताक्षर गरेको थिएँ, पछि पत्रमा गलत विवरण राखियो।”

उनले उक्त पत्र पछि फिर्ता लिइसकेको दाबी पनि गरेका छन् ।

यता, जलजला कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर हर्क बिकले रास्वपाको तर्फबाट आर्थिक सहयोग मागिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार पत्र कम्पनीको आधिकारिक ह्वाट्सएप समूहमा समेत पठाइएको थियो र सहयोगबारे छलफल भएको छ ।

घटनाले राजनीतिक दलहरूको चन्दा संस्कृति र स्थानीय तहमा हुने आर्थिक सहयोग अभ्यासबारे पुनः बहस सुरु गराएको छ ।

प्रतिक्रिया