
काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु
काठमाडौं- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका थिए।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



कागजपत्र |
