इरानविरुद्ध आक्रमण रोक्दै अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दाबी गरेका छन्। उनले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेलगत्तै यस्तो घोषणा गरेका हुन्।

बिहीबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ’हामीले भर्खरै इरानसँगको युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेका छौं।’ उनले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैंका लागि रोक्नु रहेको बताएका छन्।

ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने बताए।

यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौता भइसकेको भन्ने रिपोर्टहरूलाई अनुमानित भन्दै टिप्पणी गरेका छन्। उनले धेरैजसो बुँदाहरूमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू राखेका कारण केही पनि अन्तिम नभएको बताएका छन्। उनले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

यो घोषणा हुनु केही घण्टा अघिमात्र ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने र इरानमाथि निकै कडा प्रहार गर्ने घोषणा गरेका थिए। पछिल्लो साता अमेरिका र इरानबीच झडपहरू तीव्र भएका थिए। अमेरिकी अपाचे हेलिकप्टर खाडी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एकअर्कामाथि आक्रमण सुरु गरेका थिए।

अमेरिकी सेन्ट्रल कमाण्डले इरानका सैन्य र राडार केन्द्रहरूमा आक्रमण गरेको थियो भने जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी आधार शिविरहरूमा मिसाइल प्रहार गरेको थियो। सो क्रममा बहराइनमा ११ वर्षीया बालिका घाइते भएकी थिइन्। यस्तै, ओमानको खाडीमा अमेरिकाले गरेको आक्रमणमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारतले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर सोधपुछ समेत गरेको छ।

यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक बयानपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ४.४ प्रतिशतले गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८९ डलर कायम भएको छ। ट्रम्पले सम्झौता भएलगत्तै विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘हर्मुज जलसन्धि’ पुनः खुल्ने बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको कदमको प्रशंसा गरेका छन्।

 

प्रतिक्रिया