रास्वपा कोशी प्रदेश सभापतिमा पराजित गोमा तामाङ ‘सरिन’ द्वारा राजनीतिबाट सन्यास


विराटनगर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो कोशी प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार रहेकी गोमा तामाङ ‘सरिन’ले राजनीतिबाट अलग भएको घोषणा गरेकी छन्।

मतगणनाको अन्तिम नतिजा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमार्फत उनले राजनीतिबाट “बिट मारेको” घोषणा गरेकी हुन्। प्रारम्भिक रुझानअनुसार आफू पराजित हुने अवस्था देखिएपछि उनले यस्तो घोषणा गरेको टिप्पणी भइरहेको छ।

फेसबुकमा उनले लेखेकी छन्, “आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

रास्वपाको उक्त अधिवेशनमा उनी सभापति पदकी बलियो दाबेदारका रूपमा हेरिएकी थिइन्। तर, मतदानका क्रममा केन्द्रीय तहका केही नेताहरूले चन्द्रबहादुर राईको पक्षमा खुलेर समर्थन जनाएपछि अधिवेशनभित्रै विवादसमेत भएको बताइएको छ।

मतगणना नसकिँदै उनले राजनीति छाड्ने घोषणा गरेकी हुन्। पछि उनले अर्को स्टाटस लेख्दै पार्टीभित्रको गुटबन्दीप्रति आक्रोश व्यक्त गरेकी छन्।

उनको दोस्रो स्टाटसमा “माथिको ह्वीप” र “सेटिङ प्यानल” जस्ता शब्द उल्लेख गर्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिएको छ। साथै आफूलाई सोझो र सीधा स्वभावका कारण राजनीतिक खेल बुझ्न नसकेको संकेत पनि उनले गरेकी छन्।

कोशी प्रदेश सभापति पदमा गोमा तामाङसहित चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल र चन्द्रबहादुर राई प्रतिस्पर्धामा थिए। प्रारम्भिक परिणामअनुसार राईको जित सुनिश्चित भइसकेको बताइएको छ।

प्रतिक्रिया