आवश्यक परेमा संसद्मा प्रधानमन्त्री आउनुहुन्छ : प्रवक्ता पोखरेल


काठमाडौं – सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दबाबमा परेका छन्। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्न र माफी माग्नुपर्ने माग राखिरहेका छन्। तर सरकारको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित हुने सम्भावना नरहेको संकेत गरेको छ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यक परे प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने बताएका हुन्। संसद्मा जारी अवरोध र विपक्षीको मागबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्रीको उपस्थितिलाई आवश्यकतासँग जोडेर व्याख्या गरे।

उनले भने, “संसद्मा उहाँ प्रधानमन्त्री आउनुहुन्छ, आवश्यक परेमा। अस्ति पनि आउनुभएको थियो। तर उहाँसँग सोध्ने प्रश्न नै रहेनछन्। हामीले सोचेभन्दा निकै कम प्रश्न आयो।”

यद्यपि प्रधानमन्त्री कहिले संसद्मा उपस्थित हुने वा सम्बोधन गर्ने भन्ने विषयमा प्रवक्ता पोखरेलले स्पष्ट जानकारी दिएनन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा लगातार विरोध गरिरहेका छन् भने प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा जवाफ दिनुपर्ने उनीहरूको अडान यथावत् छ। यसले संसद्मा देखिएको गतिरोध कहिले अन्त्य हुन्छ भन्ने विषय अझै अनिश्चित बनेको छ।

प्रतिक्रिया