इङ्ग्ल्यान्ड टोलीको प्रशिक्षण केन्द्र नजिक गोली चल्दा ९ घाइते


काठमाडौं-  अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार घटना इङ्ग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीले विश्वकपका क्रममा प्रयोग गर्ने प्रशिक्षण केन्द्र नजिकै भएको हो।

क्यान्सस सिटी प्रहरीले शनिबार भएको उक्त घटनामा घाइते भएका सबै नौ जनाको अवस्था खतरामुक्त रहेको जनाएको छ। घाइतेमध्ये कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहे पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन। गोलीकाण्ड इङ्ग्ल्यान्डको विश्वकप बेस क्याम्पका रूपमा चयन गरिएको स्वोप सोकर भिलेज प्रशिक्षण केन्द्रबाट करिब चार माइल टाढा भएको बताइएको छ।

इङ्ग्ल्यान्ड टोली भने हालसम्म क्यान्सस सिटी पुगेको छैन। टोलीले विश्वकपअघि फ्लोरिडाको अर्लान्डोमा कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

घटनाबारे इङ्ग्ल्यान्ड फुटबल संघ (एफए) ले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ। यस घटनाले अमेरिकामा बढ्दो बन्दुक हिंसाको विषयलाई पुनः चर्चामा ल्याएको छ। ‘गन भायोलेन्स आर्काइभ’का अनुसार सन् २०२५ मा अमेरिकामा ४०० भन्दा बढी सामूहिक गोलीकाण्डका घटना भएका थिए।

सन् १९६६ मा पहिलो तथा अहिलेसम्मको एकमात्र विश्वकप उपाधि जितेको इङ्ग्ल्यान्ड यसपटक दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ। टोलीमा कप्तान ह्यारी केन, जुड बेलिङ्घम, डेक्लान राइस, जोर्डन पिकफोर्ड र बुकायो साकाजस्ता अनुभवी खेलाडी रहेका छन्। साथै कोबी माइनु, मोर्गन रोजर्स र टिनो लिभ्रामेन्टोजस्ता युवा खेलाडीलाई पनि समावेश गरिएको छ।

विश्वकप २०२६ मा इङ्ग्ल्यान्ड समूह ‘एल’ मा क्रोएसिया, घाना र पनामासँग प्रतिस्पर्धा गर्नेछ। टोलीले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा ४८ राष्ट्रका १ हजार २४८ खेलाडीले १०४ खेलमार्फत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया