
इनरुवामा टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
सुनसरी- सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी निरीक्षक चन्द्र खड्काका अनुसार झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ११ बजे सडक किनारमा रोकिराखिएको को १ ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ निवासी २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर चालक कोशी गाउँपालिका–३ निवासी ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालकको लापरवाही र तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
