गाउँपालिकाकी उपाध्यक्षमाथि आक्रमण प्रयासको विरोधमा गुल्मीमा महिलाको प्रदर्शन


गुल्मी – इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरमाथि भएको भनिएको दुर्व्यवहार तथा आक्रमण प्रयासको विरोधमा गुल्मीका विभिन्न संघसंस्था, महिला जनप्रतिनिधि तथा महिला अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

दुई साताअघि भएको घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने तथा महिला जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्नुपर्ने मागसहित सयौँ महिलाहरूले शुक्रबार प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि प्रभावकारी कारबाही नभएको आरोप लगाए। उनीहरूले महिला जनप्रतिनिधिमाथि भएको दुर्व्यवहारप्रति प्रहरी प्रशासन गम्भीर नदेखिएको भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा केही समय आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रदर्शनकारीहरूको आरोपअनुसार गत जेठ ८ गते मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित एक सत्सङ्ग कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उपाध्यक्ष कुँवर र गाउँपालिकाका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण प्रयास गरिएको थियो।

स्थानीयका अनुसार राति करिब १० बजेतिर उपाध्यक्ष चढेको सरकारी गाडी केही युवाहरूको समूहले रोकेर केरकार गरेको थियो। कार्यालय समयबाहिर सरकारी सवारी प्रयोग गरिएको भन्दै उनीहरूले सवारी पाससमेत मागेका थिए।

महिला संगठनहरूले गाउँपालिकाको आधिकारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा जनप्रतिनिधिमाथि भएको व्यवहारले समग्र महिलाको सुरक्षामाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिन तथा महिला जनप्रतिनिधि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया