नयाँको विकल्प फेरि पुरानो होइन, उज्यालो नेपाल पार्टी हो : कुलमान घिसिङ


काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्यान्डेटविपरीत काम गरे आफ्नो पार्टीले सशक्त रूपमा प्रतिवाद गर्ने बताएका छन्।

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै घिसिङले जनताले परिवर्तनको अपेक्षासहित दिएको दुई तिहाइ समर्थनको सम्मान गर्दै सरकार सफल हुनुपर्ने बताए। तर जनतालाई निराश बनाउने वा जनभावनाविपरीत निर्णय भए त्यसको विरोध गरिने उनको भनाइ थियो।

घिसिङले सरकारले हालै ल्याएको करसम्बन्धी व्यवस्था अव्यावहारिक रहेको टिप्पणी गरे। जनतालाई राहत दिनुपर्ने बेला विद्युतमा कर लगाउने निर्णयले उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने भन्दै उनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाए।

उनले उज्यालो नेपाल पार्टी जनताको मुद्दा बोकेर अघि बढ्ने र देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे। नयाँ राजनीतिक विकल्पको खोजी गरिरहेका नागरिकका लागि आफ्नो पार्टी नै उचित विकल्प रहेको उनको भनाइ थियो।

“नयाँको विकल्प फेरि पुरानो हुन सक्दैन,” भन्दै घिसिङले उज्यालो नेपाल पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थान बनाउने विश्वास व्यक्त गरे।

आगामी प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा पार्टीले देशभर संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउने लक्ष्य लिएको पनि उनले बताए।

त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘निलो क्रान्ति’ धेरै समय टिक्न नसक्ने दाबी गर्दै नेपालको दिगो विकास र रूपान्तरणका लागि ‘हरित क्रान्ति’ आवश्यक रहेको बताए। घिसिङले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबीसमेत गरे।

प्रतिक्रिया