सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन


काठमाडौं- राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी विषयमा विस्तृत छानबिन गर्न सरकारले संयुक्त समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार राजस्व संरक्षण र सुशासनलाई प्राथमिकतामा राख्दै सरकारले तत्काल छानबिन प्रक्रिया अघि बढाएको हो।

उनका अनुसार समितिले नियन्त्रणमा लिइएका सवारीसाधन राखिएको स्थानमै पुगेर स्थलगत अध्ययन तथा आवश्यक कागजातको परीक्षण सुरु गरिसकेको छ।

दाहालले सवारीसाधनको संख्या धेरै भएकाले राजस्व तथा भन्सारसम्बन्धी कागजातहरूको विस्तृत अध्ययन, प्रमाणीकरण र कानुनी परीक्षणमा केही समय लाग्न सक्ने बताइन्। उनले छानबिन सम्पन्न नभएसम्म धैर्य गर्न र प्रक्रियाप्रति विश्वस्त रहन सरोकारवालासँग आग्रह गरिन्।

सरकारले राज्यको राजस्व प्रणालीलाई सुरक्षित राख्न, कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा सम्भावित अनियमितताबारे सत्यतथ्य पत्ता लगाउन छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया