रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ


रुकुम पश्चिम-  रुकुम पश्चिममा जुवातास खेलिरहेको अवस्थामा एक वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठा रहेका छन्। उनीसँगै मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका–५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर तथा त्रिवेणी गाउँपालिका–२ का ४० वर्षीय मनबहादुर बोहोरा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका–४ को लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीचौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट १ लाख ६७ हजार १०५ रुपैयाँ नगद, एक गड्डी खोलेको तास र एक गड्डी नखोलेको तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया