एआई प्रयोग गरी प्रहरीको फोटो–भिडिओ परिमार्जन गर्ने युवक पक्राउ


काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर ड्युटीमा खटिएका प्रहरीको फोटो तथा भिडिओ परिमार्जन गरी सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ निवासी २१ वर्षीय हर्कबहादुर स्याङ्तान रहेका छन्। उनलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार गत जेठ १९ गते कमलामाई नगरपालिका–७ स्थित बीपी राजमार्गको गड्यौली पुल नजिक ट्राफिक प्रहरी चेकजाँचमा खटिएको समयमा स्याङ्तानले प्रहरीको फोटो तथा भिडिओ खिचेका थिए। त्यसपछि एआई टुल प्रयोग गरी ती सामग्री परिमार्जन गरेर फेसबुकमा पोस्ट गरिएको र त्यसमार्फत प्रहरीको छवि बिगार्ने तथा दुष्प्रचार गर्ने प्रयास भएको आरोप लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार स्याङ्तानलाई बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यस घटनापछि प्रहरीले सामाजिक सञ्जालमा प्रसारित सामग्रीको सत्यता नबुझी टिप्पणी, सेयर वा प्रचारप्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै सञ्चारमाध्यमलाई पनि कुनै सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि तथ्य पुष्टि गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया