
काठमाडौं–ललितपुरका ९८ स्थानमा शनिबार ४ घण्टा विद्युत् कटौती हुने
काठमाडौं – यही जेठ २३ गते शनिबार काठमाडौं र ललितपुरका करिब एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रमार्फत आपूर्ति हुँदै आएका क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणअन्तर्गत १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातीर्थले जारी गरेको सूचनाअनुसार कुल ९८ स्थान प्रभावित हुनेछन्। तीमध्ये कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० र पुल्चोक वितरण केन्द्रका १४ स्थान रहेका छन्।
आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित उक्त परियोजनाका लागि १३२ केभी स्युचाटार सबस्टेशनको बसलाई सटडाउनमा राखी मर्मत तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख छ।
सूचनामा स्युचाटार र टेकु सबस्टेशनबाट आपूर्ति हुने विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा तोकिएको अवधिभर विद्युत् अवरुद्ध हुने र उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको बताइएको छ।
मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय हेरफेर हुन सक्ने प्राधिकरणले जनाएको छ। निर्धारित समयमा काम सम्पन्न गर्न प्रयास गरिने भन्दै विद्युत् अवरुद्ध हुँदा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी पनि गरिएको छ।
विद्युत आपूर्ति अवरुद्ध हुने स्थानहरु
कुलेश्वर वितरण केन्द्र– सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चस्मती, भगवानपाउ, कलंकी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरु ।
कीर्तिपुर वितरण केन्द्र – मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह, त्रि।वि। परिसर लगायतका स्थानहरु ।
रत्नपार्क वितरण केन्द्र – न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान, लगन चोक लगायतका स्थानहरु ।
पुल्चोक वितरण केन्द्र – बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोल लगायतका स्थानहरु ।



कागजपत्र |
