शङ्कास्पद गतिविधिमा संलग्न २ चिनियाँ पक्राउ


काठमाडौं – प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रुपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शङ्कास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ ।

निजहरुलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया