धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच भेट, नयाँ पार्टी गठनबारे छलफल


काठमाडौं-  राप्रपा परित्याग गरेर नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबीच मंगलबार भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा आगामी राजनीतिक सहकार्य र सम्भावित एकताबारे प्रारम्भिक समझदारी बनेको स्रोतले जनाएको छ। यद्यपि नयाँ पार्टीको नाम, संरचना तथा नेतृत्व ढाँचा लगायत विषयमा भने अझै विस्तृत छलफल बाँकी रहेको बताइएको छ।

स्रोतका अनुसार दुई नेताबीच विचारधारागत रूपमा मिल्ने विषयमा सहमति भएको छ भने पार्टीमा बढीभन्दा बढी समर्थक र समूहलाई कसरी समेट्ने भन्ने विषयमा क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको छ।

धवलशमशेर राणाले प्रसाईंसहितको समूहसँग मिलेर नयाँ पार्टी घोषणा गर्नेगरी गृहकार्य अघि बढाएको बताइएको छ। मलमास अवधि सकिएपछि राष्ट्रवादी विचारधारा बोकेको नयाँ राजनीतिक शक्ति घोषणा गर्ने तयारी रहेको स्रोतको दाबी छ।

प्रस्तावित नयाँ पार्टीले राजावादी विचारधारा र युवा पुस्ता (जेनजी) को भावना समेत समेट्ने दाबी गरिएको छ।

प्रतिक्रिया