

अन्तिम समयमा प्रचण्डले गरे बालुवाटार नछिर्ने निधो!

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाइएको बैठकमा अन्तिम समयमा आएर नजाने निधो गरेका प्रचण्डले शुक्रबार भनेका थिए,‘प्रधानमन्त्रीको फोन आयो, भेटेर कुरा गर्छु।’
ललितपुरको एउटा कार्यक्रमका क्रममा प्रचण्डले उक्त विषय सार्वजनिक मञ्चबाट नै घोषणा गरेका थिए। तर सर्वदलीय बैठक भनेपछि उनी सहभागी नहुने भएको बताइएको छ।
बालुवाटार नजाने निर्णयअघि एमाले नेता माधवकुमार नेपालसँग प्रचण्डको फोनमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ। नेता नेपालसँगको परामर्शका आधारमा नै प्रचण्ड उक्त निचोडमा पुगेको हुनसक्ने अनुमान गरिएको छ।
नेकपा माओवादी केन्द्रले भने सर्वदलीय बैठकका लागि निम्तो नै नआएको दाबी गरेको छ। तर, बालुवाटारले भने सबैलाई बोलाइएको जनाएको छ।

