तान्त्रिक प्रयोगमा महिलाका अंग बेचबिखनका लागि हत्या, एउटै औंलाको ८० लाख!


काठमाडौं– तान्त्रिक प्रयोगका लागि महिलाका शारिरीक अंग बेचबिखन गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा यो गिरोहले एउटा औंलाको ८० लाखसम्म दाम आउने भन्दै महिलाको हत्या गरेको प्रहरीले खुलाएको छ। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ मनहरपुरकी सरजहा दर्जीको हत्या पनि यहि गिरोहले गरेको प्रहरीले पत्तो लगाएको छ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदिमा उनको शव फेला परेको थियो। कसैले पत्ता लगाउन नसकोस् भनेर शव बोरामा कोचेर ढुंगासमेत राखि खोलामा फालिएको थियो। ‘लास डुबोस् भन्ने चाहनाअनुसार यसरी बोरामा राखिएको रहेछ’, प्रहरी स्रोतले भन्यो।

हातका औंलाहरू काटिएका थिए। विवाह गरी कपिलबस्तुको महाराजगञ्ज आएकी हत्या गरिएकी महिला १२ बर्षअघि मृत्यु भएपछि माइतीमा नै बस्थिन्।

शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसँग मृतकको चिनजान थियो। १२ चैतमा अब्दुल र बेलाले दर्जीलाई फोन गरी बोलाए।

प्रहरीसँगको बयानका क्रममा अभियुक्तले भनेका छन्,‘बेतिया नदिनमा बोलाएर पहिला घाँटी थिचेर चलमलाउन दिइएन अनि औंला काटियो। त्यसबेलासम्म दर्जीको मृत्यु भइसकेको थियो।’

प्रहरीले ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमान, शुद्धोधन नगरपालिका–५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका–१का ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ललाई पक्राउ गरेको छ।

संगठित अपराध, कर्तव्य ज्यान, मानव बेचबिखनलगायतका मुद्दा चलाउने तयारी भएको छ।

प्रतिक्रिया