
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद दीपक बोहोरा सर्वोच्चमा
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सांसद बोहोराले सभापति रवि लामिछानेसँगै दिल्ली प्रस्थान गर्नुअघि सोमबार रिट दर्ता गराएका हुन्। रिटमाथि भोलि सुनुवाइ हुने तय भएको छ।
आयोगको प्रतिवेदनमा भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रसङ्ग उल्लेख गर्दै विभिन्न सांसदहरूले भिडलाई उक्साउने भूमिका खेलेको आशय व्यक्त गरिएको छ। सो सूचीमा बोहोरासहित रास्वपाका दर्जनौँ सांसदहरूको नाम समेटिएको छ, जसलाई आवश्यक अनुसन्धानपछि कारबाही गर्न सिफारिस गरिएको छ।
तर, बोहोराले आफू जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको दाबी गरेका छन्। उनले त्यस समयमा श्रीमतीको प्रसूति अवस्थाका कारण अस्पतालमा रहेको स्पष्ट पारेका छन्।
उनका अनुसार आयोगको प्रतिवेदन पूर्वाग्रही र आधारहीन छ। उनले रिटमा प्रतिवेदन खारेज गर्न माग गर्दै आयोगले “अनुमान र टीकाटिप्पणीलाई आधार बनाएर आरोप लगाएको” उल्लेख गरेका छन्।
“मैले कुनै पनि समयमा हिंसा, आगजनी वा गैरकानुनी गतिविधिको आह्वान गरेको छैन,” बोहोराले भनेका छन्, “टीकाटिप्पणीको आधारमा संलग्नता जोड्नु कानुनी राज्यको सिद्धान्तविपरीत हो।”
उनले मानवअधिकार आयोगजस्तो संवेदनशील निकायले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने गरी भाषा प्रयोग गर्नु गलत भएको दाबी गरेका छन्।
यसैबीच, प्रतिवेदनमा नाम समावेश भएका अन्य रास्वपा सांसदहरूले पनि सामूहिक रूपमा सर्वोच्च अदालत जाने तयारी गरिरहेको पार्टी स्रोतले जनाएको छ।



कागजपत्र |
