
दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा, सरकारी वकिललाई प्रतिवेदन बुझाइयो
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सकाएर पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।
प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको प्रहरीको भनाइ छ । ती अभिव्यक्तिमा महिलामाथि अपशब्द प्रयोग, सेना–प्रहरीजस्ता राज्यका निकायप्रति टिप्पणी तथा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङलगायत व्यक्तिहरूबारे विभिन्न दाबी गरिएको उल्लेख छ ।
प्रसाईं वीरगन्जस्थित गहवा माई मन्दिर दर्शन गर्न तथा संरचना भत्काइएका स्थानीयलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका बेला पक्राउ परेका थिए ।
यसैबीच, सर्वोच्च अदालतले प्रसाईंलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ ।



कागजपत्र |
